Wednesday, February 12, 2025

‘अनलाइन साहित्यिक पत्रकारिताः शक्ति र सीमा’ विषयक विचार गोष्ठी तथा विमर्श कार्यक्रम

 

देवकोटा लु–सुन प्रज्ञा प्रतिष्ठानले  वि.सं.२०८१ साल माघ २९ गते  ‘अनलाइन साहित्यिक पत्रकारिताः शक्ति र सीमा’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। देवकोटा लु–सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौडेलको अध्यक्षतामा अनामनगरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न गोष्ठीमा विभिन्न अनलाइन साहित्यिक पत्रिकाका सम्पादक तथा समालोचकहरूको सहभागिता रहेको थियो।

गोष्ठीमा सहभागी वक्ताहरूले अनलाइन साहित्यिक पत्रकारिताका चुनौती र सम्भावनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले साहित्यपोस्टबाट साहित्य प्रेमीहरूलाई आकर्षित गर्ने खालका सिर्जना दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली भाषी साहित्यप्रेमीहरू विश्वभर छन् तर हामीले पाठक सन्तुष्ट हुने सामग्री दिन सकिरहेका छैनौँ। नेपाली भाषा साहित्यमा विसंगति धेरै छन्, साहित्य पत्रकारितामा बहस गर्नुपर्ने धेरै कुरा छन्। भाषा, साहित्य र कलामा बहस गर्नुपर्ने धेरै कुरा छन्।”

सरद प्रधानले अनलाइन मिडियाको सुधार, प्रतिक्रियाको तत्काल उपलब्धता र लेखहरूको उपलब्धतामा देखिएका समस्याबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “अनलाइन मिडियामा सच्याउन सकिन्छ, प्रतिक्रिया तत्काल दिन सकिन्छ, सुधार्ने सुविधा छ। तर लेखहरू नपाउनु, नाम चलेका लेखकहरूले लेखको मूल्य महँगो भन्नु जस्ता समस्या छन्। सामाजिक दायित्व अन्तर्गत साहित्यमा कसैले लगानी गर्ने मन गर्दैनन्।”

इ जमानाका दिनेश बस्नेतले छापा र अनलाइन मिडियामा काम गर्दाको अनुभव सुनाउँदै अबको मिडिया मल्टिमिडियामा जानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अनलाइन पत्रिकाहरू विश्वव्यापी भइसकेका छन्। अबका सिर्जनाहरू मल्टिमिडियामा जानुपर्छ। नत्र हाम्रा लेखकहरूलाई एआईले चिन्दैन। साहित्यको ग्राहक बनाउनै पर्छ।”

बाह्रखरीका राजेश खनालले अहिलेका पाठकहरू हेर्न र सुन्न मन पराउने भएकाले त्यसअनुरूपको सामग्री निर्माणका लागि आर्थिक लगानीको आवश्यकतामा जोड दिनुभयो । उहाँले नेपाली साहित्यको उत्थानका लागि सबै अनलाइनले साहित्यिक सामग्री प्रस्तुत गरिरहेको बताउनुभयो ।

समालोचक महेश पौडेलले अनलाइन माध्यमको शक्तिको चर्चा गर्दै अनुसन्धानकर्ताहरूलाई पुस्तकालय धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो। उहाँले भन्नुभयो, “अनलाइन माध्यम अहिले शक्तिशाली भएर आइरहेको छ। अनुसन्धान गर्नेहरूले अहिले पुस्तकालय धाउनुपरेको छैन। अनलाइन अहिले सीमाविहीन छ, जुनसुकै ठाउँबाट पढ्न सकिन्छ। तर कहिलेकाहीँ अनलाइनमा समस्या आउँछ, चल्दैन।”

गोष्ठीमा साहित्यकारहरू देविका तिमिल्सिना, स्नेह सायमि, तेजविलास अधिकारी,  होमशंकर बाँस्तोलालगायत वक्ताहरूले अनलाइन साहित्यिक पत्रकारितालाई थप प्रभावकारी र व्यावसायिक बनाउन विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा विमर्श ऋङखलाका संयोजक एवम् प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेलले कार्यकमको महत्त्वका बारेमा प्रकाश पार्दै उपस्थित अतिथि एवम् साहित्यिक पत्रकारहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रम सृजना शर्माले सन्चालन गर्नुभएकाे थियो ।

सोही  कार्यक्रममा भोज अर्यालको कवितासङ्ग्रह ' सेता भिर यता पीर' को साहित्यकारहरू सुनिल पौडेल, शरद प्रधान , अश्विनी कोइराला, मातृका पोखरेल र महेश पौडेलले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।

000














































































No comments:

Post a Comment