Saturday, August 30, 2025

देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानद्वारा 'मैले चिनेको देवकोटा' विषयक संवाद श्रृङ्खला आरम्भ

देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानको आयोजनामा वि.सं. २०८२ भाद्र १४ गते 'मैले चिनेको देवकोटा' विषयमा एक संवाद श्रृङ्खलाको आयोजना गऱ्यो । यस ऋङ्खलामा वरिष्ठ साहित्यिक पत्रकार एवम् नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नगेन्द्रराज शर्मा प्रमुख वक्ता हुनुहुन्थ्यो । देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौडेलको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमका संयोजक एवम् प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रमुख वक्ता नगेन्द्रराज शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनका बिबिध पाटाहरूमाथि चर्चा गर्नुभयो । महाकवि देवकोटाको छिमेकीका रूपमा रहेर र उहाँका छोराछोरीसँग सँगसँगै बाल्यकाल बिताउनुभएका वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले देवकोटा गरिब थिए भनेर अनावश्यक हल्ला चलेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो 'देवकोटा सम्पन्न थिए । उनी गरिब थिए भनेर अनावश्यक हल्ला चलाइयो ।' देवकोटाको कृतित्वमा बारेमा समालोचक ज्ञाननिष्ट ज्ञवालीले बोल्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरू पवन आलोक, नारायण तिवारी, विष्णुप्रसाद आचार्य, वसन्त रिजाल, आविष्कार कला, नन्दु उप्रेतीलगायतले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष कृष्ण प्रसाईं, सदस्य डा. सिर्जना शर्मा उप्रेतीको पनि उपस्थिति थियो । कार्यकमको सहजिकरण प्रतिष्ठानका कार्यसमिति सदस्य सिर्जना शर्माले गर्नुभएको थियो ।

000