Friday, May 27, 2022

फिक्कल उत्सवमा सिक्किमेली स्रष्टा

 इलाम — चिनियाँ लेखक लु सुन र नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित देवकोटा–लु सुन एकेडेमीले भारतको सिक्किमबाट आएका साहित्यकार तथा पत्रकारको सम्मानमा वसन्त काव्य उत्सव आयोजना गरेको छ ।



इलामको सूर्योदय नगरपालिकामा आयोजित उत्सवमा भारतीय नेपालीभाषी साहित्यकार मोहन दुःखुन(मोहनसिंह राई)लाई ५० हजार रुपैंया राशिको पुरस्कार समेत प्रदान गरिएको छ ।

एकेडेमीका कोषाध्यक्ष कृष्ण प्रसाईका अनुसार हरेक वर्ष प्रदान गरिने देवकोटा लु सुन प्रज्ञा पुरस्कार एक वर्ष नेपालको तथा एक वर्ष विदेशमा रहेका विशिष्ट साहित्यकारलाई पदान गरिंदै आएको छ । शनिबार पुरस्कृत ७५ वर्षीय दुःखुनका १० वटा महाकाव्यसहित झण्डै ५० वटा कृति प्रकाशित भइसकेका छन् । पत्रकार चन्द्र भण्डारीले आधा शताब्दीभन्दा लामो समय कम्युनिस्ट आन्दोलनमा बिताएका भारतको सिलिगुढीबासी दुःखुनको साहित्यिक व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

उत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय, देवकोटा–लु सुन एकेडेमीका अध्यक्ष निनू चापागाई, गायक गणेश रसिक, सिक्किमस्थित विविध पिछडा वर्ग आयोगकी अध्यक्ष पवित्रा भण्डारी, सिक्किम सरकारका पूर्व सचिव किरण रसाइलीसहितका स्रष्टाले विश्वभर फैलिएका नेपालीभाषी स्रष्टाको योगदान तथा भाषा–साहित्यको आयाममाथि धारणा राखेका थिए ।


उत्सवमा सिक्किमबाट आएका पत्रकार तथा लेखक गोपाल ढकाल, जगन दाहाल, एनबी घिमिरे, होमनाथ डाब्री, दीपा राई, जीविका अश्रु, एरोन राई, मोहनकुमार क्षेत्री, बब्बु तामाङ लगायतलाई सम्मान गरिएको थियो । उत्सवमा सहभागी आरती ठकुरी(दार्जीलिङ) तथा सिलिगुढीबाट आएका लेखक देवेन्द्रनाथ शुक्ला, लतिका जोशी, युवराज काफ्ले, ज्ञानेन्द्र खतिवडा पनि सम्मानित भएका थिए ।

सिक्किम, दार्जीलिङ तथा सिलिगुढीबाट आएका स्रष्टाहरु नेपालमा घामको पहिलो झुल्को प्रवेश गर्ने प्रसिद्ध गन्तव्य श्रीअन्तुको घुमघाममा पुगेका थिए । आइतबार बिहान उदाएको घामको झुल्कोसँगै प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायले कवि कृष्ण प्रसाइको कृति ‘घामको आयु’को श्रीअन्तु पर्यटकीय बिन्दूमा बिमोचन गरेका थिए ।

सन् २०११ मा स्थापित देवकोटा–लु सुन एकेडेमीले चिनियाँ साहित्यकार लु सुनका रचनाको नेपाली अनुवाद तथा महाकवि देवकोटाका सृजनाको चिनियाँ अनुवाद गरेर भाषिक सहकार्य गर्दै आएको छ । लु सुनका ‘टलकजंग भर्सेज टुल्के’, ‘आह क्यूको सााचो कथा’ नेपालीमा समेत प्रसिद्ध छन् । चीनको सांघाइमा सन् १८८१ मा जन्मेका लु सुन चिनियाँ सांस्कृतिक क्रान्तिका अगुवामध्येका एक थिए । उनको ५५ बर्षकै उमेरमा निधन भएको थियो ।

www.ekantipur.com बाट साभार 

-------------------------------------------

कार्यक्रमका तस्विरहरू